`

अध्यक्ष ओली आरोप : राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिच्यो

Nepal One HD ३० फागुन २०७९ १७:४४
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाउनुभएको छ ।

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको सङ्घ तथा प्रदेशका सांसदहरूसँगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटि हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई बेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाउनुभएको हो ।

अहिले १० दलीय नेताहरूले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको उहाँको भनाइ छ । उहाँले संविधानको व्याख्या सम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समीकरण भत्किन सक्ने बताउनुभयो । ओलीले गठबन्धन भित्र अनेक प्रकारका समस्याहरू रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको विजय हुने जिकिर गर्नुभयो ।

ओलीले अरू निजी स्वार्थका लागि केन्द्रित भए पनि एमाले सबल राष्ट्रिय शक्ति स्थापित गर्नका लागि लागेको धारणा राख्नुभयो ।


प्रतिक्रिया