`

मन्त्री पो बन्दिनँ भनेको थिएँ, अहिले त म उपप्रधानमन्त्री बनेको छु :: पूर्णबहादुर खड्का

Nepal One HD १८ चैत २०७९ १४:३८
प्रमुख खबर

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नबन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दाबी गरेका छन् ।

शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुगेका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि आफूले मन्त्री मात्रै नबन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिन भनेर नभनेको बताएका हुन् ।

आफू धेरै चोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफूले मन्त्री बन्ने अभियान बन्द गरे पनि अहिले आफू उपप्रधानमन्त्री बनेको उनले बताए । उनले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको धारणा राखे ।

त्यस्तै उनले वर्तमान सरकारमा सहभागिताको लागी कुनै विशेष मन्त्रालयमा दाबी नगरेको स्पष्ट परे । उनले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा प्रकाश शरण महतलाई अर्थमन्त्री बनाउनुभएको र यसमा अन्यथा मान्न नहुने बताएका हुन् । मन्त्री खड्काले आफूलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफूले रक्षा रोजेको तर्क दिए ।

मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले आश्रममा रहेको नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्ण कदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे ।


प्रतिक्रिया