युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने छ : महेश बस्नेत


काठमाडौँ – नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गर्नु भएको छ ।
बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो, महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन । ”
उहाँले राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गर्नुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उहाँले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिनुभयो ।

“नेतृत्व चयनको लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यहि भावना अनुसार अघि बढिने छ”,उहाँले भन्नुभयो,“पार्टी र युवा संघमा राजनीतिक वा बैचारिक कुनै गुटबन्दी छैन पद प्राप्तीको लागि टकराव हुनसक्छ यसलाई हामीले व्यवस्थापन गर्नेछौँ ।”
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले जानकारी दिनु भयो ।
महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उहाँको भनाई छ । महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उहाँको भनाई रहेको छ ।
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनुहुने भएको छ ।
महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्षहरु, महासचिव लगायतका नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिनु भएको छ ।
महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढि प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आउने स्वास्थ्य विभाग प्रमुख तथा कोशी प्रदेश कमिटिका सह–इन्चार्ज निरोज पौडेल जानकारी दिनु भयो ।