`

रवि लामिछानेमाथि चित्रबहादुरको टिप्पणी-खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍यो

Nepal One HD ३ वैशाख २०८० १४:२४
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि कडा टिप्पणी गर्नुभएको छ । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै केसीले नयाँ पार्टीप्रति पनि पुरानै प्रवृत्ति देखिएको टिप्पणी गर्नुभयो । 

उहाँले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताउनुभयो । 

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति बताउनुभएको हो । 

‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन’,उहाँले भन्नुभयो । 

पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टीले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताउनुभयो । 

‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउथे । नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए’ केसीले भन्नुभयो, ‘खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन ।’
 


प्रतिक्रिया