ओलीसँगको भेटपछि प्रचण्डले भने- ‘हामी कसैको दबाबमा पर्दैनौँ’


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए ।
उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’
प्रचण्ड र ओलीबीच यसअघि बिहीबार पनि भेटवार्ता भएको थियो । नक्कली भूटाणी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हुदा पनि उनी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।