`

भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट नहोस् : राजेन्द्र लिङ्देन

Nepal One HD २७ वैशाख २०८० १२:३०
प्रमुख खबर

काठमाडौँ – राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसदमा जानकारी गराउन माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न शङ्का उत्पन्न भइरहेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो । उहाँले उक्त प्रकरण केवल भ्रष्टाचारमात्रै नभएको भन्दै राज्यविरुद्धको द्रोह भएको जिकिर गर्नुभयो ।

त्यस्तै लिङ्देनले उक्त प्रकरण अख्तियारलाई बुझाउने काम नगर्न पनि ध्यानाकर्षण गराउनुभयो । पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर आउनु लज्जास्पद भएको उहाँको भनाइ छ । उहाँले उक्त प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट गर्न नहुनेमा जोड दिनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि बुधवार नै बसेको संसद्को पहिलो बैठक बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको थियो ।


प्रतिक्रिया