नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित : प्रधानमन्त्री


काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताउनुभएको छ ।
यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०र८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “नीति कार्यक्रमको मुख्य विषय कसरी उत्पादन बढाउने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने भन्ने हो ।”
प्रस्तुत नीति तथा कार्यक्रमले सङ्घीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
“आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवाको पहुँच र गुणस्तर, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको छ”, उहाँले भन्नुभयो ।
सबैको साझा प्रयासबाट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन सम्भव भएको बताउनुभयो । नीति तथा कार्यक्रममा राष्ट्रिय आकाङ्क्षा स्पष्टरुपमा प्रतिविम्बित भएका उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधिनता एवं राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरी लक्ष्य हासिल गर्ने दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।