अनुसन्धान गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्यू किन डराएको ? : रवि लामीछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सभापति रवि लामीछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकोलाई किन सरकारले कार्बाहि गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।
बुधबार जारी प्रतिनिधिसभा बैठकको सुरूमै बोल्दै उनले प्रधानमन्त्री र गृहमन्त्री ज्यू किन डराएको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, “तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ,” लामिछानेले भने, “यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ ।”
उनले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताए ।
“ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ?,” लामिछानेले भने, “हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु ।”
उनले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई उनीहरुमाथि पनि छानबिन हुनुपर्ने बताए ।
“एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,” लामिछानेले प्रश्न गरे । उनले अहिलेका अनुसन्धानको विश्वसनीयमा प्रश्न उठेको भन्दै तत्काल संसदीय समिति बनाउन माग गरे ।