ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिललाई बुझायो


काठमाडौं/ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ। अनुसन्धान सकेर सुझावसहितको प्रतिवेदन मंगलबार बिहान सरकारी वकिलको कार्यलयमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
ललिता निवास जग्गा प्रकरणमा आरोपीलाई पक्राउ गरेको ६० दिनभित्र अभियोजन गर्नुपर्ने जानकारी गराउँदै उनले भने, ‘आगामी शुक्रबार वा शनिबार सार्वजनिक बिदा भएकाले आइतबार जसरी भए पनि अदालत पठाउनु पर्ने अवस्था देखिन्छ । त्यही अनुसार टिम गठन भएर अभियोजन प्रक्रिया सुरु हुन्छ ।’
सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत पूर्वमन्त्रीसँग सोधपुछपछि सीआईबीले अनुसन्धानलाई अन्तिमरुप दिएको हो।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा हालसम्म २३ जना पक्राउ परेकोमा तीनजना बन्दी प्रत्यक्षीकरणको रिटमार्फत् छुटेपछि बाँकी २० जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।