कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको प्रथामिकतामा : मन्त्री बस्नेत


जुम्ला-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको डायलायसिस सेवाको शुभारम्भ र स्किल ल्याब हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली आफँैमा बाहुमूल्य जडीबुटीको भरिपूर्ण ठाउँ पनि हो । आयुर्वेद औषधिलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानले खोज, अनुसन्धानको काम गर्नुपर्छ ।” प्रतिष्ठानमा ब्लड बैंक स्थापनाका लागि मन्त्रालय आर्थिक सहयोग गर्न तयार रहेको स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति बस्नेतको भनाइ छ ।
प्रतिष्ठानले स्वास्थ्य सेवालाई नतिजा आउने गरी काम गर्नुपर्ने भन्दै उहाँले प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवामा जनतालाई राहत हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।“कर्णाली स्वास्थ्य विज्ञानलाई चाहिने भौतिक संरचनाको निर्माणमा आवश्यक बजेटको व्यवस्थापनसमेत गरिने छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयलाई चलायमान बनाउन लागिपरेको छु ।” अस्पतालमा दश प्रतिशत शय्या निःशुल्क कडाइसाथ लागू गरेर कार्यान्वयमा समेत आएको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।कर्णाली प्रतिष्ठान पश्चिम नेपालको भरपर्दो अस्पताल भएकाले यसको थप स्तरोन्नतिका लागि बजेट आवश्यक रहेको सांसद कान्तिका सेजुवालले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र निःशुल्क बनाउन सरकारको ध्यान जान नसकेकोे प्रदेशसभा सदस्य देवेन्द्र शाहीको भनाइ थियो ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले कर्णाली प्रतिष्ठानबाट प्रदान गरिने सेवा प्रवाहमा व्यापक जनगुनासो आउने गरेको भन्दै यहाँका सबै राजनीतिक दल, स्थानीय सरकारसँग सहकार्य र समन्वयमा प्रतिष्ठानले कमजोर भूमिका खेलेको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रचलित कानूनअनुसार उपलब्ध साधन स्रोतको प्रयोग गरी प्रतिष्ठानलाई आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।माथिल्लो कर्णालीका पाँच जिल्लालगायत बाजुरा, अछाम र जाजरकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने गरेको प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावलले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले प्रतिष्ठानलाई स्किल ल्याब प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।