ट्राफिकले सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको थियो – बालेन सचिवालय
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले शनिबार राति भएको घटनाबारे लेखेको स्टाटसमाथि लेखिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बालेन सचिवालयले ट्राफिक प्रहरीले मेयरपत्नीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति पनि जनाएको छ ।

विज्ञप्ति भनिएको छ – ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’
‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं ।’


