`

आशावादी बनौँ, यसपटक नयाँ काम गर्ने जमर्को गरेको छु : प्रधानमन्त्री दाहाल

Nepal One HD २८ भदौ २०८० ६:२६
राजनीति

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नीति कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ । डिजिटल हाउस नेपालले  यहाँ आयोजना गरेको ‘नेपालभ्यूज कन्क्लेभ’लाई सम्बोधन गर्दै उहाँले नीति कार्यक्रम र बजेटमा ‘उत्पादन वृद्धि र रोजगारी सृष्टि’लाई महत्व दिइएको बताउनुभयो ।

“अहिले हामीले अपनाइरहेको विकासको मोडलले समृद्धि हासिल गर्न सक्दैन अर्को वर्षको नीति कार्यक्रम र बजेट निर्माण गर्दा नयाँ ढङ्गले सोच्छौँ”, उहाँले भन्नुभयो, “अर्थविद्, बुद्धिजीवि, नागरिक समाज तथा राजनीतिक दललगायत सरोकारवालाको सामूहिक विवेकको केन्द्रीकृत अभिव्यक्तिका रुपमा नीति कार्यक्रम र बजेट आउँछ ।”उहाँले नीति कार्यक्रम र बजेटलाई सरकार, निजी क्षेत्र र बुद्धिजीविका तर्फबाट अहिलेदेखि नै छलफल गर्दै लगेर साझा निष्कर्षमा पुर्‍याउन जोड बल गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गरेदेखि नै केही न केही नयाँ काम गर्ने जमर्को गरेको र आशावादी हुन उहाँको भनाइ छ ।“नयाँ र राम्रो कामको सुरुवात गर्न कुनै तिथि मिति कुर्नु पर्दैन, मैले सरकारको जिम्मेवारी सम्हाल्नेबित्तिकै सुशासन, निजी र सार्वजनिक क्षेत्रको सहकार्यलाई अगाडि बढाउने निर्णय लिएको थिएँ”, उहाँले भन्नुभयो, “सुशासनका पक्षमा अहिलेसम्म गर्न सकिने प्रयत्न गरिएको छ, थुप्रै बेतिथीमाथि प्रहार गर्ने र त्यसलाई सुधार गर्ने प्रयास गरिएको छ ।”मौद्रिक नीति र वित्तीय नीतिका बीचमा तालमेल गर्ने भन्नेबारेमा धेरै मेहनत गरिएको उहाँको भनाइ छ । “अर्थतन्त्रमा देखिएका समस्या समाधान भए भन्ने मेरो दाबी छैन, अझै समस्या छन्, तर अर्थतन्त्रलाई लयमा ल्याउन अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्र बैंक र सम्बन्धित निकायका बीचमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यको नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशमा लगानीका सम्भावनालाई खुला राखिएको बताउनुभयो ।अर्थमन्त्री डा प्रकाशशरण महतले विश्वव्यापी कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रमा विस्तारै सुधार आइरहेको भएको बताउनुभयो । उहाँले पर्यटन र जलविद्युत् क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै विप्रेषणबाट आएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै निजी क्षेत्रलाई सरकारले विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सबै क्षेत्रभन्दा निजी क्षेत्रलाई हेर्ने नजर नकारात्मक छ । निजी क्षेत्रले आफ्नो स्वार्थका लागि मात्र काम गरेकोजस्तो टिप्पणी भइरहेको छ । यसरी निजी क्षेत्रलाई आत्मबल मिल्दैन”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया