`

उपराष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट

Nepal One HD ५ असोज २०८० १९:५८
राजनीति

काठमाडौँ, ५ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाईयोङले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटमा दुई देशबीचका द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विविध आयामबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७४ मा नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि दुई देशबीच घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो ।“हाम्रा द्विपक्षीयसम्बन्ध आपसी विश्वास, समझदारी एवं सहयोगमा आधारित छन्”, उहाँले भन्नुभयो, “दुई देश र जनता जनताबीच राम्रो मित्रता, समझदारी र आपसी सहयोगका निरन्तर अभिवृद्धि भइरहेको छ ।”उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको बताउनुभयो । “कोरिया सरकारले नेपाललाई विकास सहयोगको क्षेत्रमा प्राथमिकता साझेदार मुलुकका रूपमा मान्यता दिई सहयोगलाई निरन्तरता दिएकोमा धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “हामीले सहयोग कार्य गर्ने आर्थिक क्षेत्रका प्राथमिकता निर्धारण गर्ने दिशामा छलफल अघि बढेको छ भन्ने विश्वास लिएको छु ।”उहाँले नेपालमा पछिल्लो समयमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग एवं लगानी गर्न कोरिया सरकारलाई राजदूतमार्फत आग्रह गर्नुभयो ।उपराष्ट्रपतिले औद्योगिक विकास, कृषि, जलविद्युत् विकासको लागि कोरियाको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रगाढ भएको भन्दै नेपाल मन पराउने बौद्धमार्गी कोरियालीमा उल्लेख्य रहेको जनाउनुभयो । भेटमा राजदूत पार्कले आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो । 


प्रतिक्रिया