`

महासचिव गुटेरेसको नेपाल भ्रमण पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण

Nepal One HD १४ कार्तिक २०८० १३:२६
अर्थ समाचार

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । आइतबार नेपाल आएका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायत सँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुगे । उनले आजै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर पुगेर त्यहाँबाट आजै लुम्बिनी पुगेका हुन् ।

सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति र्पुयाइरहेको बताए । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गरे ।

संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ ।

विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । त्यसैगरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरुको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको पाइन्छ ।

कोराना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यतिबेला कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ । सम्भवतः नेपालमा विदेशी पर्यटक आगमन सन् २०२३ को अन्त्यसम्ममा कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा आइपुग्छ । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् ।

यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उनको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उनले भने, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवद्र्धन हुन्छ, जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवद्र्धनका दृष्टिले समेत महत्वपूर्ण हुनेमा उनको विश्वास छ ।


प्रतिक्रिया