`

बाढीले उजाड कागबेनी पुनः निर्माणको पर्खाइमा

Nepal One HD १५ कार्तिक २०८० १२:५९
अर्थ समाचार

मुस्ताङ– कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् ? कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उनले भने, “सरकारले हाम्रो दुःख देखोस, केही व्यवस्था गरोस ।” दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन ।

यसपालिको वर्षातमा कागखोलाले नराम्ररी झुक्काएको कर्माले गुनासो सुनाए । “पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ”, उनले भने, “कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुर्पयो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।” कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनी झैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् ।

कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति र्पुयाएको थियो । “बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,” ६३ वर्षीय गुरुङले भने, “मेरो घरमा २० लाख रुपैयाँ बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।”

कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारीरहेको बताए । “सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ”, उनले भने । सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए ।

कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति र्पुयाएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए । “पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ”, कृष्णले भने, “कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।”

अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको जानकारी दिए ।

“बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ”, अध्यक्ष रिङजीनले भने , “बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।”

अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे ।
“बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन”, अध्यक्ष रिङजीनले भने, “ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।”
पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।

विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा ५२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । “२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्”, अध्यक्ष रिङजिनले भने, “बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।”

विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको संयोजक उनको भनाइ छ ।

“देशविदेशमा रहेका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, संयोजक फेन्चोकले भने, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।”


प्रतिक्रिया