`

अर्थतन्त्रका सबै सूचक सकारात्मक – गभर्नर

Nepal One HD १८ कार्तिक २०८० १९:०४
अर्थ समाचार

काठमाडौँ, १८ कात्तिक : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ ।”

उहाँले राजस्व पनि सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैंक तथा वित्तीय संस्थामा निक्षेत्र पर्याप्तमात्रामा रहेको तथा पर्यटक पनि उल्लेख्य सङ्ख्यामा वृद्धि भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थतन्त्रलाई थप चलायमान बनाइनुपर्छ– निजी क्षेत्र

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक दिशामा रहेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रले समन्वय र सहकार्य फराकिलो बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज अवस्थामा छ, यसको प्रभावकारी सुधारका लागि नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशी पर्यटक बढेको अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रललाई सुधारको दिशामा अघि बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य भएको उल्लेख गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउन सबै सरोकारवालाबीच बहज र पैरबी आवश्यक भएको बताउनुभयो । नाफिजका अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र अर्थतन्त्रको श्रीवृद्धिमा संस्थाले भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

तीन पत्रकार पुरस्कृत
नाफिजको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नगद रु एक लाखसहित शारदा–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई प्रदान गरियो । त्यस्तै जनही रु ५० हजार राशिको बैंकिङ पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय क्रमशः आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्य र विकास न्यूज डटकमका पत्रकार सन्तोष रोकायालाई प्रदान गरिएको छ ।


प्रतिक्रिया