`

माउन्टेन क्रस–कन्ट्री प्रतियोगिताको तयारी तीव्र

Nepal One HD ५ मंसिर २०८० १५:१६
अर्थ समाचार

काठमाडौ– मङ्सिर ९ गते पोखरामा आयोजना हुने माउन्टेन क्रस–कन्ट्री कम्पिटिशनको तयारी तीव्र पारिएको छ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको नेपाल पर्यटन बोर्डले जनाएको हो । प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले जानकारी दिए ।

प्रतियोगीताका सन्दर्भमा पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावासले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै प्र्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल र चीनका १०÷१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने रेग्मीले जानकारी दिए । प्रतियोगीतामा सवै नागरिकले भाग लिन सक्ने उनको भनाइ छ । उनले विश्वमा नै पर्यटन बृद्धि गर्न खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेकाले नेपालमा पनि खेल पर्यटन बोर्डले महत्वका साथ हेरेको जिकिर गरे ।

प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बोर्डले जनाएको छ । नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले तीन लाख ३० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया