`

चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि राष्ट्र बैंकको अनुमान

Nepal One HD २० मंसिर २०८० १५:२५
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । बुधबार संसदको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पेस गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यस्तै राष्ट्र बैंकले मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरेको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । असोजको मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत रहेको छ ।

जुन अघिल्लो वर्षको असोजभन्दा १ प्रतिशत कम हो । तर, मौद्रिक नीतिले लिएको ६ दशमलव ५ प्रतिशतको लक्ष्यभन्दा बढी रहेको छ । खासगरी खाद्य तथा पेयपदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ ।

२०८० असोजमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ८ दशमलव ४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ८ प्रतिशत रहेको छ । कार्तिकमा आयात ३ दशमलव ८ प्रतिशत र व्यापार घाटा ३ दशमलव ३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म रेमिट्यान्स ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।


प्रतिक्रिया