`

भूकम्पपीडितलाई देवघाटबाट सात लाख ४६ हजार सहयोग

Nepal One HD २३ मंसिर २०८० ८:४१
अर्थ समाचार

दमौली – जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाबाट रु सात लाख ४६ हजार सहयोग भएको छ । उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

भूकम्पपीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट रु पाँच लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु एक लाख ३७ हजार एक सय एक र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न सङ्घ संस्थाबाट सङ्कलन गरिएको रु एक लाख नौ हजार सात सय ८० गरी कूल रु सात लाख ४६ हजार आठ सय ८१ कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गत कात्तिक २० गते भूकम्पपीडितको सहयोगका लागि रु पाँच लाख सहयोग गर्ने र थप आर्थिक सहयोग सङ्कलनका लागि वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको अध्यक्षतामा राहत सङ्कलन समिति गठन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया