भ्रष्टाचारमा राजनीतिक दलहरु डुवेका कारण बिभिन्न प्रकरणहरु सार्वजनिक भइरहेका छ: नेता कोइराला
काठमाडौँ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरु डुवेका कारण बिभिन्न प्रकरणहरु सार्वजनिक भइरहेको बताउनुभएको छ ।
विराटनगरमा शनिवार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने बताउनुभएको हो । उहाँले अहिले मुलुकका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताउनुभयो ।
एनसेल प्रकरणमा राजनैतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाका भ्रष्टाचार भएको उहाँले बताउनुभयो । नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।
