`

त्रिभुवन विमानस्थलमा तीन महिनासम्म किन रहँदैन सीसीटिभी स्टोरेज ?

Nepal One HD १० पुष २०८० १६:५०
प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बजेट नभएका कारण सीसीटिभीको स्टोरेज लामो समयसम्म राख्न नसकिएको बताएको छ । मंगलबार महाप्रबन्धक प्रताप बाबु तिवारीले विज्ञप्ति जारी गरी सीसीटिभीको स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर बजेट प्राप्त नभएकाले नसकिएको बताएका हुन् ।

तीन महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा नपाएको उनले उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन ।’सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले तीन महिनाको सिसीटिभी फुटेज माग्दा प्राधिकरणले २१ दिनको मात्र दिएको थियो । यस्तो खबर बाहिरिएपछि प्राधिकरणको आलोचना भइरहेको छ । त्यसपछि महाप्रवन्धक तिवारीले यसबारे स्पटीकरण दिएका हुन् ।


प्रतिक्रिया