वरिष्ठ पत्रकार पोखरेलको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण
काठमाडौँ, १७ पुस : त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता तथा आमसञ्चार विभागले वरिष्ठ पत्रकार एवं पत्रकारिताका गुरु गोकुलप्रसाद पोखरेलले नेपालको समग्र पत्रकारिता र पत्रकारिता शिक्षामा पुर्याउनुभएको योगदान सधैँ स्मरण रहने जनाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का कायममुकायम महाप्रबन्धक तथा गोरखापत्र दैनिकका प्रधानसम्पादक भई काम गर्नुभएका पोखरेल पत्रकारिताको व्यावसायिक विकासका लागि तालिम र मर्यादित पत्रकारिताका लागि सधैँ वकालत गर्दै आउनुभएको क्याम्पसका विभागीय प्रमुख डा श्रीराम पौडेलले बताउनुभयो ।
उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभागले उक्त क्याम्पसबाट स्नातक तहमा पत्रकारिता पठनपाठन सुरु गर्दा पोखरेल संस्थापक अध्यापकमध्ये एक भएको उल्लेख गरेको छ । पत्रकारिता तथा आमसञ्चारका विषयमा स्नातकोत्तरको पढाइ सुरु गर्दा पनि उहाँको योगदान रहेको विभागले सम्झना गरेको छ ।
पत्रकारिता शिक्षालाई अघि बढाउन तथा नेपाल प्रेस इन्ष्टिच्युट स्थापनामा महत्वपूर्ण योगदान दिनुहुने वरिष्ठ पत्रकार पोखरेलको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्यसमेत रहिसक्नुभएका उहाँले पत्रकारिता, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा जीवन समर्पण गर्नुभयो । विभागले स्व पोखरेलप्रति श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
