केपी ओली कप फुटवल प्रतियोगिता फागुन ११ देखि


काठमाडौ । यस वर्षको केपी ओली कप फुटवल प्रतियोगिता आउँदो फागुन ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका फाइनल बाहेकका खेल अखिल नेपाल फुटवल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ । फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने युवा संघ नेपालले जनाएको छ ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित विदेशी टिमलाई समेत सहभागी गराईने छ । प्रतियोगितामा पहिलो हुने टिमले ट्रफिसहित ११ लाख रुपैयाँ पाउनेछ । यस्तै, दोस्रो हुनेले ट्रफि, प्रमाणपत्र सहित ५ लाख रुपैयाँ पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने युवा संघ नेपालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि खुला आह्रवान गरिने र सोही आधारमा टिम छनौट हुने उल्लेख छ । प्रतियोगिता संचालनका लागि साढे २ करोड रुपैयाँ खर्च हुने आँकलन गरिएको छ । युवा उमेरका खेलाडीहरुमाझ खेलकुदको प्रवद्र्धन र विकासका लागि चासो जगाउन, आर्थिक सशक्तिकरण गर्न, सामाजिक संघसंस्थाको अनेकतालाई एकताको सुत्रमा बाँध्न, युवाको विदेश पलायन रोक्न, युवालाई खेलकुद्मा जोड्न, खेलाडीहरुको सीप विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा अब्बल स्थान कायम गराउनु प्रतियोगिताको लक्ष्य रहेको छ । २०७९ सालदेखि सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।