`

अन्यायमा परेका खेलाडीका पक्षमा युवा संघले आवाज उठाउनुपर्छ– महेश बस्नेत

Nepal One HD ३ माघ २०८० १८:२०
खेलकुद

काठमाडौ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अन्यायमा परेका खेलाडीका पक्षमा युवा संघले आवाज उठाउनुपर्ने बताएका छन् । आज काठमाडौमा केपी ओली कप फुटवल प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युवा नेता बस्नेतले क्रिकेटका हस्ति संदीप लामिाछाने अन्यायमा परेको भन्ने व्यापक रुपमा कुरा उठेकाले अन्यायमा परेका खेलाडीको पक्षमा युवा संघले आवाज उठाउनुपर्ने बताएका हुन् । कोही पनि खेलाडी अन्यायमा पर्न नहुने बताउँदै उनले क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिनु अन्यायपूर्ण भयो भन्ने सर्वत्र आवाज उठेको बताए ।

अपराधीलाई समेत माफी दिने सरकारले खेलाडी अन्यायमा पर्दा मुद्धा फिर्ता लिने तहमा पुग्न हिचकिचाउन नहुने उनको तर्क छ । ‘यसो भन्दै गर्दा महिलामाथि अन्याय पनि हुनु नहुनेमा सचेत रहनुपर्छ’, उनले भने । रोजगारीका लागि समेत खेलाडी विदेशीनुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको भन्दै उनले खेलाडीमा पलाएको निराशा तत्काल संवोधन गर्नुपर्ने बताए । खेलाडीको आर्थिक उपार्जन र खेलकुद् पूर्वाधार निर्माणमा वर्तमान सरकार उदासिन देखिएको उनले आरोप लगाए ।

प्रधानमन्त्री केपी ओलीको समयमा खेलकुद् पूर्वाधार निर्माणले गति लिएको भएपनि अहिले रोकिएको उनको भनाइ छ । अघि बढेको क्रिकेट रंगशालाको निर्माण तथा स्तरोन्नतिमा ढिलाई हुँदा खेलाडीमा निराशा छाएको छ । खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाउन र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा समेत अब्बल सावित गर्ने वातावरण बनाउन केपी ओली कप प्रतियोगिताले भूमीका खेल्ने उनको विश्वास छ ।

पछिल्लो समय युवा संघ नेपाल राजनीतिक तहमा मात्रै नभएर हरेक क्षेत्रमा उत्तिकै क्रियाशिल भएर लागेको उल्लेख गर्दै नेता बस्नेतले सुशासन, समृद्धि, विसंगतिविरुद्ध युवा संघले जोडदार रुपमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए । फरक प्रसंगमा उनले नेपालमा राजसंस्थाको पुनःस्थापना संभव छैन भन्ने कुरा युवा संघको जनप्रदर्शनले प्रमाणित गरेको बताए ।


प्रतिक्रिया