`

रुससँग युक्रेनको युद्धविराममाथि ब्लिङ्केनद्वारा आशङ्का व्यक्त

Nepal One HD ३ माघ २०८० १९:४६
विश्व

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार युक्रेनमा युद्धविराममा पुग्ने विषयमा आशङ्का व्यक्त गर्दै रुसले आक्रमणको करिब दुई वर्ष बितिसक्दा पनि राम्रो विश्वास नदेखाएको बताउनुभएको छ ।

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उहाँको उक्त टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वैश्विक शान्ति शिखर सम्मेलनको प्रस्ताव गरेको एक दिनपछि आएको हो । प्रस्तावमा जेलेन्स्कीले कुनै पनि सम्झौताका लागि रुसले युक्रेनी क्षेत्र छाड्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“मलाई यस्तो हुन्छ जस्तो लाग्दैन”, युद्धविरामको सम्भावनाका बारेमा ब्लिङ्केनले भन्नुभयो, “हामी सधैँ युद्धविरामका लागि खुला छौँ, युद्धविरामप्रति सचेत छौँ किनकी कसैले भन्दा धेरै युक्रेनी जनता यही चाहन्छन् तर त्यहाँ रुसको आक्रामकताले दिएको क्षेत्रीय अखण्डता, सम्प्रभुता र स्वतन्त्रता जस्ता चुनौतीका लागि रुसका तर्फबाट आधारभूत सिद्धान्तका आधारमा राम्रो विश्वासका साथ छलफल गर्ने इच्छा हुनुपर्छ ।”

“यदि रुस उक्त आधारमा वार्ता गर्नका लागि तयार हुन्छ भने उसले त्यसो गर्न चाहने युक्रेनीहरूलाई भेट्टाउने छ र निश्चितरूपमा अमेरिकाबाट समर्थन प्राप्त गर्नेछ”, विदेशमन्त्री ब्लिङ्केनले भन्नुभयो ।युक्रेनले रुसबाट पूर्वी क्षेत्रहरूलाई फिर्ता लिनका लागि सङ्घर्ष गरिरहेको र अमेरिकी कांग्रेसले राष्ट्रपति जो बाइडेनको अनुरोधअनुसार किएभलाई थप सैन्य सहयोगलाई अनुमति दिन ढिलाइ गरिरहेकाले युद्धविरामको माग बढेको छ ।

अमेरिकाले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु हुनुभन्दा पहिला रुससँग युक्रेनमा सुरक्षा चिन्ताका रूपमा वर्णन गरेको कुराबारे उल्लेख गर्दै ब्लिङ्केनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अभिप्रायमाथि आशङ्का व्यक्त गर्नुभयो । पुटिनले सो समयमा युक्रेनलाई नाटो गठबन्धनमा प्रवेशलाई लिएर चेतावनी दिनुभएको थियो ।

“तपाईंले मलाई विश्वास गर्नुपर्ने आवश्यकता छैन, मात्र राष्ट्रपति पुटिनले के भन्नुभयो त्यो पढ्नुहोस्, यो वास्तवमा त्यसको बारेमा कहिल्यै थिएन, यो सधैँ पुनः एउटा विशाल रुसलाई स्थापा गर्ने भव्य दृष्टिकोणका बारेमा थियो”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया