जापानी अन्तरिक्षयानको चन्द्रमामा सफल अवतरण


बीबीसी । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ ।
द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ‘क्रेटर’मा नियन्त्रित रूपमा अवतरण गरेको हो । यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ ।
यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् । यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन् । अझै कारण थाहा नभए तापनि उक्त यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्नेछैनन् ।
जसका कारण स्लिम पूर्णतः उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै ’डिस्चार्ज’ हुनेछन् । त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन । त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन । इञ्जिनिअरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन् ।
उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनु अगाडी सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन् । जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन् त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन् ।
उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरण सम्बन्धी सफ्टवेअरले कसरी काम गर्यो भन्ने जानकारी दिनेछ । जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रिय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन् । उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ।