इरानका पूर्वराष्ट्रपति रुहानीलाई पुनः निर्वाचनमा सहभागी हुन रोक


इरानका पूर्वराष्ट्रपति हसन रुहानीले २४ वर्षको सदस्यतापछि आफूलाई मुलुकको सर्वोच्च नेता नियुक्त गर्ने संस्थामा पुनः निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको बताएका छन् ।
विज्ञहरूको सभामा उम्मेदवारहरूको जाँच गर्ने न्यायविद्हरूले नयाँ कार्यकालका लागि रुहानीको उम्मेदवारीलाई ‘स्वीकृति नदिएको’ रुहानीको आधिकारिक वेबसाइटमा बताइएको छ ।
वेबसाइटमा उनलाई उम्मेदवारी दिनबाट रोक लगाउनुपर्ने कारणबारे विस्तारपूर्वक केही बताइएको छैन । सन् १९९९ मा पहिलोपटक उक्त निकायमा निर्वाचित भएका पूर्वराष्ट्रपति रुहानीले आफूले अर्को नयाँ कार्यकालको चाहना राखेको नोभेम्बरमा घोषणा गरेका थिए ।
उनले सन् २०१३ देखि सन् २०२१ सम्म इरानको राष्ट्रपतिका रूपमा काम गरेका थिए । पद छाडेपछि उनी आफ्नो उत्तराधिकारी इब्राहिम रायसीको अति रूढिवादी प्रशासन र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सको कडा आलोचक हुन् ।
विशेषज्ञहरूको ८८ सदस्यीय सभाले सर्वोच्च नेताको निर्वाचन गर्ने, पर्यवेक्षण गर्ने र आवश्यक भएको अवस्थामा सर्वोच्च नेतालाई बर्खास्त गर्ने जिम्मेबारी दिइएको छ ।