मुख्यमन्त्री कार्की र गोर्खा ब्रिगेडका कर्णेल ओवीई बीचभेटवार्ता
मोरङ,- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग संयुक्त अधिराज्यको गोर्खा ब्रिगेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीले आईतबार शिष्टाचार भेट गरेको छ । भेटमा मुख्यमन्त्री कार्कीले पूर्वब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
उहाँले धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट दुई दशमलव पाँच किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन बनाउन रु दुई करोड बजेट विनियोजन गरेको जनाउँदै सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघावाट विद्युत् उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गर्नुभयो ।यसैगरी, उहाँले प्रदेश सरकारले पूर्वगोर्खा सेनाका लागि आगामी आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेकाले प्राविधिक लगायतको सहयोगका लागि आग्रह गर्नुभयो ।कर्णेल कमान्डेन्ट रिचार्डले नेपाल र बेलायत बीचमा ऐतिहासिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य साहसको उच्च प्रशंसा समेत गर्नुभयो ।
