`

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा चिनियाँ टोली पराजित

Nepal One HD २७ माघ २०८० १८:३४
खेलकुद

काठमाडौं । नेपालको यू–२३ राष्ट्रिय फुटबल टोलीले चीनको जिङहाईको युवा टोलीलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले चीनको पहुना टोलीलाइए ५–१ गोलले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन समिर तामाङले दुई तथा सन्जिव विष्ट, छिरिङ लामा र निराजन धामीले एक एक गोल गर्दा चिनिया टोलीका लागि हाजी पेङसुओले एक गोल फर्काएका छन् । नेपालले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता बनाएको हो ।

नेपालका लागि सन्जिव विष्टले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिालएका हुन् । त्यस्तै खेलको ३९ औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा तीन गोल गर्दा चिनिया टोलीले एक गोल फर्काएको थियो । खेलको ५४ औं मिनेटमा समिरले दोस्रो गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाए ।

एक पक्षीय खेलमा नेपालले एक पछि अर्को गोलका अवसर बनाएको थियो । खेलको ६३ औं मिनेटमा छिरिङ लामाले र ७५ औं मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाए ।

खेलको ७९ औं मिनेटमा चिनिया टोलीले एक गोल गर्न सफल भयो । चीनका लागि हाजी पेङसुओले गोल गरे । नयाँ वर्षको अवसरमा चीनले नेपालको यू–२३ टिमसँग मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । नेपालसँग खेल्न चीनले छिङहाई प्रान्तको यू–२३ को टिम काठमाडौं उतारेको थियो ।


प्रतिक्रिया