`

पाँच महिना अघिको हत्या घटना संलग्न भएको आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ

Nepal One HD २८ माघ २०८० १५:४६
अपराध

सुदूरपश्चिम । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकप्रकाश डाँगीले जानकारी दिएका छन् ।

डाँगीका अनुसार उनीहरुलाई केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । मृतककी पत्नी सुशीला रानाले चौधरी र भण्डारीका नाममा पटकपटक किटानी जाहेरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय झलारीले इन्कार गरेको थियो ।

प्रहरीले जाहेरी नलिएपछि सुशीलाले जिल्ला सरकारी कार्यालयमा जाहेरी दर्ता गराउन खोजेकी थिइन्। तर, वकिल कार्यालयले पनि जाहेरी दर्ता नगरेपछि उनले हुलाकमार्फत् कार्यालयमा जाहेरी पठाएकी थिइन् । सरकारी वकिलको कार्यालयले १६ माघमा हुलाकमार्फत् प्राप्त जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालयलाई जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो । सरकारी वकिलको निर्देशनपछि २१ माघमा झलारी प्रहरीले सुशीलाको जाहेरी दर्ता गरेको थियो।


प्रतिक्रिया