‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि
यही डिसेम्बर दोस्रो साता भारतको छत्तीसगढ राज्यको रायपुरमा एउटा सानो समूहले ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’ नामको कार्यक्रम गर्यो।जय श्रीराम सेना सङ्गठन र आदित्यवाहिनी नामक दुई हिन्दूवादी सङ्गठनले ‘समर्थन यात्रा’सँगै त्यसै दिन उक्त राज्यका राज्यपालमार्फत भारतका राष्ट्रपतिलाई एउटा ज्ञापनपत्र पनि बुझाए।
ती संस्थाका सदस्यहरूबाट बीबीसीले प्राप्त गरेको ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको छ।
त्यसमा नेपाल धर्मनिरपेक्ष भएपछि धर्मान्तरण बढेको दाबी गरिएको छ भने चीनको हस्तक्षेप बढेको र नेपालको अस्तित्व रक्षाका लागि पनि हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको उल्लेख छ।डिसेम्बर दोस्रो साता नै भारतको अयोध्यास्थित जानकी महल ट्रस्ट धर्मशालामा भएको भारत वर्षीय बाह्मण महासभाको राष्ट्रिय कार्यकारिणी बैठकको बन्द सत्रमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने प्रस्ताव आएको त्यसमा सहभागी एक नेपालीले बताएका छन्।
तर बैठकले नेपालसम्बन्धी उक्त प्रस्ताव पारित नगरेको र निर्णयमा पनि त्यसबारे उल्लेख नगरिएको उनले दाबी गरे।
“दुई वर्षअघि संस्थाको नेपालमा भएको बैठकले नै पारित गरिसकेको प्रस्तावलाई दोहोर्याउनु जरुरी छैन भनेर त्यसलाई पारित गरिएन,” उक्त बैठकमा सहभागी भएको बताउने पशुपति क्षेत्र विकाष कोषका पूर्व सञ्चालक सदस्य अर्जुनप्रसाद बास्तोलाले भने।
उक्त संस्थाको विद्वत् परिषद्मा रहेकाले आफू बैठकमा सहभागी भएको बास्तोलाको भनाइ छ।बास्तोलाका भनाइमा दुई वर्षअघि नेपालमा भएको महासभाको सम्मेलनले नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र बनाउन माग गर्ने निर्णय गरेको थियो।
गतिविधि भारतमा, माग नेपालसँग सम्बन्धित
नेपालमा विभिन्न समूहहरूले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गरिरहेका बेला भारतमा पनि हिन्दूवादी संस्थाहरूले त्यसको समर्थनमा स-साना कार्यक्रमहरू गर्ने गरेका उदाहरण प्रशस्तै भेटिएका छन्।
पछिल्ला केही वर्षमा नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै भारतमा विशेषगरी हिन्दूवादी धार्मिक सङ्गठनहरूले स-साना कार्यक्रमहरू गर्ने तथा ज्ञापनपत्र बुझाउने गरिरहेका छन्।
त्यसलाई नेपालमा हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरूले ‘नागरिक तहको सद्भावपूर्ण समर्थन’ भन्ने गरेका छन् भने गणतन्त्रवादीहरूले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भन्दै त्यस्ता गतिविधिको विरोध गर्ने गरेका छन्।
कतिपयले विशेषगरी नेपालको तराई क्षेत्रमा भएका पछिल्ला साम्प्रदायिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई पनि भारतमा भइरहेका ती घटनासँग जोडेर हेर्ने गरेका छन्।
भारतमा क्रियाशील नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने सङ्गठनहरूको कुनै न कुनै रूपमा नेपालका हिन्दूवादी संस्थाहरूसँग सम्बन्ध रहेकाले पनि त्यस्तो आशङ्का उत्पन्न हुनु नौलो नभएको कतिपयको विश्लेषण छ।
केही विश्लेषकहरू भारतको सत्ताधारी हिन्दूवादी दल भारतीय जनता पार्टीसँग कुनै न कुनै रूपमा सम्बन्ध भएका हिन्दूवादी सङ्घसंस्थाहरू नै नेपालमा हिन्दूराष्ट्र पुनर्स्थापनाको मागमा अघि बढेको बताउँछन्।
त्यसले यस्ता गतिविधिमा भाजपाको पनि ‘मौन समर्थन’ रहेको उनीहरूको विश्लेषण छ।
यद्यपि भारतमै हिन्दूराष्ट्र नेपालको माग गर्दै कार्यक्रम गर्नेहरूले आफूहरूलाई भाजपाको समर्थन नरहेको र स्वतस्फूर्त रूपमा छिमेकी देशका नागरिकको माग अनुरुप मात्र आफूहरूले आफ्नै सरकारलाई घच्घच्याएको बताएका छन्।
रायपुरमा ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’को आयोजना गर्ने जय श्रीराम सेना सङ्गठन रायपुरका अध्यक्ष गौरव सोलंकीले भने, “नेपालको मामिलाबारे भारत सरकारले निर्णय गर्ने हो। हामीले होइन। हामीले जनताको रूपमा माग राख्न त भारतको संविधानले अधिकार दिएको छ।”
“संविधानप्रदत्त अधिकार प्रयोग गरेर हामीले जनताका रूपमा नेपाली जनताको भावना अनुसार आफ्नो सरकारसँग नेपाल हिन्दू राष्ट्र हुनुपर्छ र त्यसलाई भारतले समर्थन गर्नुपर्छ भन्ने माग राखेका हौँ। यसमा यहाँको सरकार वा सत्ताधारी दल कसैको पनि संलग्नता छैन।”
उनले नेपाल र भारतबीच नागरिस्तरमा सम्बन्ध रहेको र सांस्कृतिक रूपमा एकै भएकाले पनि हिन्दूराष्ट्रको माग गरिएको बताए।उनीहरूले आफ्ना कार्यक्रममा भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीको तस्बिर पनि प्रयोग गरेका थिए।
निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन जसले नेपाललाई ‘हिन्दूराष्ट्र’ भएको घोषणा गरेका थिए र गत वर्षको शिवरात्रिमा नेपाल पनि आएका थिए।सोलंकीले तिनै शङ्कराचार्यलाई उल्लेख गर्दै “गुरुदेवको आशिर्वाद अनुरूप” नेपालमा हिन्दूराष्ट्रको समर्थनमा कार्यक्रम गरेको बीबीसीलाई बताए।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । विष्णु पोखरेल बीबीसी न्यूज नेपालीका सम्वाददाता हुन् ।
