कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह


गलकोट (बागलुङ), १ फागुन : बागलुङ बजारको बाङ्गेचौर खेलमैदान र रसआवर फुटसल मैदान प्राय खेलाडीले भरिएका देखिन्छन् । दुई महिनायता मात्रै बागलुङमा एक दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता सम्पन्न भइसकेका छन् । कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह छाएको छ ।
पछिल्लो समय जिल्लास्तरीय फुटबल प्रतियोगिताको बाक्लो आयोजना भइरहेकाले विद्यार्थी खेलाडीमा उत्साह छाएको हो । गत पुसदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना भएदेखि हालसम्म दजनौँ खेलकुद प्रतियोगिता भइरहेका छन् । खेलकुदका गतिविधि बढ्न थालेपछि सम्भावना भएर उजागर गर्न नपाएका विद्यार्थी खेलाडीलाई उत्साह मिलेको सामुदायिक विद्यालय विद्यामन्दिर माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी इसाक नेपालीले बताउनुभयो । पछिल्लो समय अध्ययनसँगै फुटबललाई पनि अगाडि बढाइरहेको उहाँको भनाइ थियो ।
नेपालीले अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिताले हामी जस्ता खेलाडीलाई उत्साह मिलेको बताउनुभयो । सामुदायिक विद्यालयले खेल शिक्षक छनोट गर्नुका साथै निजी विद्यालयसँग प्रतिस्पर्धासमेत गरिरहेको उहाँको भनाइ थियो । “विद्यालय र दुई स्थानीय क्लबबाट फुटबल खेल्दै आएको छु । पछिल्लो समय बागलुङमा खेलकुदका गतिविधि बढ्दै गइरहेको हामीले खेल्ने अवसर पाएका छौँ ।
पछिल्लो समय सामुदायिक विद्यालयको प्रतियोगितामा सक्रिय सहभागी देखिन थालेको छ”, फुटबल खेलाडी नेपालीले भन्नुभयो, “बागलुङ बजारमा अहिले फुटबल र फुटसलको राम्रो खेल भइरहेको छ । अन्तर विद्यालयस्तरीय प्रतियोगितामा रु ५० हजार पुरस्कार दिन थालेका छन् । नयाँ खेलाडीलाई खेलकुदका गतिविधिले प्रोत्साहन गरेको छ ।
निजी विद्यालयले मात्रै खेलकुदका गतिविधिमा भाग लिने परिपाटीको अन्त्य गर्दै पछिल्लो समय बागलुङ बजारको विद्यामन्दिर माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालयसँगै गाउँका विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउनुलाई फुटबल खेलका लागि सुखद् मान्न सकिने फुटबल खेलाडी बताउँछन् । जिल्लामा सबैभन्दा बढी आयोजना हुने फुटबल प्रतियोगिताले बाङ्गेचौर खेल मैदानमा राम्रो दर्शक पाउँदै आएको छ । गत माघ १९ देखि २२ सम्म सञ्चालन भएको प्रेस चौतारी कपले जिल्लामा फुटबल प्रतियोगितामा एकैसाथ १५ हजारभन्दा बढी दर्शक उतार्न सफल भएको थियो । उक्त प्रतियोगितामा एक दर्जनभन्दा बढी खेलाडीले विद्यागत पुरस्कार पाउँदा खेलाडीमा उत्साह भरिएको थियो ।
जिल्लाबाट ए डिभिजन लिग खेल्न सफल फुटबल खेलाडी आशिष केसीले खेलाडी उत्पादन गर्न विद्यालयबाटै खेलकुदका गतिविधि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय बागलुङ बजारका सामुदायिक र संस्थागत विद्यालयले आयोजना गर्ने फुटबल प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो सहयोग पुगेको उहाँको भनाइ थियो । “विद्यालयबाटै खेलाडी उत्पादन गर्न सकेमा राष्ट्रियस्तरसम्म पुग्न सकिन्छ । विद्यार्थीहरुलाई खेल प्रशिक्षणले मात्रै पुग्दैन प्रतियोगितामा प्रतिस्प्रर्धाले निखारता ल्याउछ । उपाधी जित्ने खेलाडी खेल क्षेत्रमा उत्साहपूर्ण ढङ्गले अघि बढ्छ”, केसीले भन्नुभयो, “पछिल्लो समय विद्यालयले फुटबल र भलिबल क्षेत्रमा चासो दिएको पाइन्छ ।
कतिपय विद्यालयमा खेलकुद शिक्षक नै राखेको पाएका छौँ । खेल क्षेत्रमा राम्रो सम्भावना भएका विद्यार्थीलाई खेलकुद गतिविधिले निखारता ल्याउन मद्दत पुग्नेछ ।” खेल पूर्वाधारको अभावका बीच निरन्तर आयोजना भइरहेका फुटबल प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गरेर बागलुङको नाम चिनाउन सहयोग पुग्ने जिल्ला फुटबल सङ्घका कोषाध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार माघ लागेसँगै बाङ्गेचौर खेलमैदानमा मात्रै आधा दर्जनभन्दा बढी फुटबल प्रतियोगिता आयोजना भइसकेका छन् । बागलुङको गुठीमा रहेको रसआवर फुटसल मैदानमा दैनिकजसो प्रतियोगिता भइरहने गरेका छन् । जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, बागलुङ युनिटी सेभेनएसाइड खेल प्रतियोगिता, अन्तर विद्यालय फुटबल, सर्वाधिक पुरस्कारको प्रेस चौतारी कप प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
रसआवर फुटसल मैदानमा गुरास कप, एभेरेष्ट कप फुटसल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने अहिले जिल्ला सदरमुकाम बागलुङ बजारमा फ्युचर कप चलिरहेको छ । फागुनमा तीन फुटबल प्रतियोगिता बाङ्गेचौर खेल मैदानमा आयोजना गर्न थालिएको छ । आदर्श विद्यामिन्दर विद्यालयका फुटबल खेलाडी सोहम सुनारले स्थानीय निकायले खलकुदको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, निरन्तर प्रतियोगिता आयोजना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।