‘विद्यालयस्तरबाटै धूमपान तथा सुर्ती सेवनबारे सचेतना जगाउन आवश्यक’:वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति


काठमाडौँ, २ फागुन : वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले विद्यालयस्तरबाटै धूमपान र सुर्ती सेवनबारे सचेतना अभिवृद्धिको आवश्यक भएको बताउनुभएको छ । प्रणय दिवस तथा सरस्वती पूजाका अवसरमा आज डा ओम फाउन्डेसनका संस्थापकसमेत रहनुभएका डा ओममूर्तिले विद्यालयमा धूमपान र सुुर्ती सेवनबारे सचेतना जगाउन अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । “पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्ती सेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेका छन् ।
अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “धूमपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरबारे विद्यार्थीलाई प्रभावकारीरूपमा सूचना पु¥याउने उद्देश्यसहित फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गरेको छ ।” फाउन्डेसनले सोही अभियानअन्तर्गत विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यक्रममा देशभरबाट करिब १९ हजार विद्यार्थी सहभागी थिए ।
कविता प्रतियोगितातर्फ उत्कृष्ट हुन र उत्कृट चित्रकारले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्ने उहाँले बताउनुभयो । ‘मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार’ भन्ने नारासहित फाउन्डेसनले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान सञ्चालन गरेको थियो ।
अभियानमा धूमपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धतासहित धेरै व्यक्तिले सहभागिता जनाएको डा ओमूर्तिले बताउनुभयो । “अभियानअन्तर्गत हजाराैँ मानिसले यस अभियानमा चासो राख्नुभएको छ । एक हजार छ सयभन्दा बढीले धूमपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार करिब ७० प्रतिशत प्रतिबद्धता स्वदेश र ३० प्रतिशत प्रतिबद्धता विदेशमा आएको छ ।