सबै मन्त्रीलाई हटाउने तयारी, आजै सानो आकारको मन्त्रिपरिषद् पुर्नगठन हुने
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनमा फेरबदल आउनेगरी प्रधानमन्त्री दाहालले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठनको तयारी अघि बढाएका हुन् ।
आजै एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुने वालुवाटार श्रोतले जनाएको छ । एमालेले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई आज पुर्नगठन हुने मन्त्रिपरिषद्मा पठाउने भएको छ । यस्तै, रास्वपाले सरकारको नेतृत्वको लागि निर्णय गर्ने जिम्मा सभापति रवि लामिछानेलाई दिएको छ । उनी उपप्रधानमन्त्री सहित गृह मन्त्री बन्ने निश्चित जस्तै भएको छ । यता, माओवादीबाट भने वर्षमान पुनको नाम चर्चामा छ ।
एकीकृत समाजवादी पार्टी भने नयाँ गठबनधनमा रहने वा नरहने भन्नेबारेमा अलमलमै छ । आज पुर्नगठन हुने मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्दैछन् ।
