`

म्याग्दीमा मानवीय लापरबाहीका कारण डढेलोले वनजङ्गल उजाडिए

Nepal One HD ८ चैत २०८० ७:१७
समाचार

म्याग्दी (बेनी) : म्याग्दीमा डढेलोले वनजङ्गल उजाड बन्न थालेका छन् । मानवीय लापरबाहीका कारण वनजङ्गलमा डढेलो बढेसँगै जङ्गल उजाड बनेका छन् भने वातावरण प्रदूषण र मानवीय क्षतिको जोखिम बढेको छ । वसन्त ऋतुको आगमनसँगै जिल्लाका विभिन्न वनक्षेत्रमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस वर्ष हिउँद याममा वर्षा कम भएको र सुक्खा ठाउँमा प्रज्वलनशील वस्तुको लापरबाहीले दिनहुँ डढेलो लाग्न थालेको छ ।

“पछिल्लो साता दिनहुँ वनजङ्गलमा आगलागीका घटना घटेका छन्, हामीले स्थानीयवासीलाई सजकता र सतर्कता अपनाउन अनुरोध गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्ला केही दिनमा विभिन्न जङ्गलमा डढेलो लागेको छ । वनजङ्गलमा लागेको आगो बस्तीतर्फ आउन थालेपछि मात्रै सर्वसाधारणले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गर्ने गरेको वन अधिकृत अधिकारीले बताउनुभयो ।

कार्यालयले वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने चलन बढेको पाइएको छ । गत सोमबार सदरमुकाम बेनीबजार नजिकै रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा लागेको भिषण डढेलो बजारमै पस्ने जोखिम बढेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि, सर्वसाधारण र दमकल परिचालन गरेर नियन्त्रण गरिएको थियो । आगलागीले बराहपाखो सामुदायिक वनको अधिकांश क्षेत्र उजाड र नाङ्गो भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका वन क्षेत्रमा डढेलोका घटना बढेका छन् । उक्त गाउँपालिकाको पोखरेबगर, घार, महभिर, आरुबोट डिम्मरे पानी, साल्जाको वन, दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, हिस्तानलगायत ठाउँका वनक्षेत्रमा डढेलो लागेको छ । विगतका वर्षको तुलनामा यस वर्ष वन क्षेत्रमा आगजनीका घटना बढेको अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

जिल्लाको मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भइरहेको छ । आगलागीले वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । आगजनीबाट वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्नुपर्ने वन अधिकृत अधिकारी बताउनुहुन्छ ।

वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

डढेलो लागेको सूचना पाए पनि आगलागीलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन हुने गरेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको उहाँले जानकारी दिनुभयो । वन डढेलो रोकथामका लागि स्थानीय तहले आवश्यक पहल गर्न सकेका छैनन् । डढेलो लगाउने व्यक्तिको पहिचान र आवश्यक कानुनी कारबाही गर्नसकेमा यस्ता कार्यलाई निरुत्साहित गर्न सकिने र वन डढेलो रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने सरोकारवाला बताउँछन् ।


प्रतिक्रिया