`

दक्षिण अफ्रिकामा प्रजातन्त्र स्थापनाको ३० बर्ष : राष्ट्रपति रामाफोसाद्वारा व्यापक सुधारका काम गरिएको दाबी

Nepal One HD १६ वैशाख २०८१ ८:५७
अर्थ समाचार

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा लोकतन्त्रको ३० औँ वर्षगाँठ मनाइरहँदा शनिबार आफ्नो पार्टीको नेतृत्वमा प्राप्त उपलब्धिको प्रशंसा गर्नुभएको छ ।

सन् १९९४ मा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनले नेल्सन मण्डेला र अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी) पार्टीलाई सत्तामा ल्याएको तीन दशकपछि दक्षिण अफ्रिकीहरूले मे २९ मा मतदान गर्दैछन् ।’दक्षिण अफ्रिका आज ३० वर्षअघिको तुलनामा निकै राम्रो ठाउँ बनेको छ,’ रामाफोसाले प्रिटोरियास्थित युनियन बिल्डिङमा ‘स्वतन्त्रता दिवस’को अवसरमा गरेको सम्बोधनमा भन्नुभयो ।

निर्वाचनमा राम्रो नतिजा प्राप्त गर्न दलहरूले व्यापक प्रचारप्रसार गरिरहेका समय पहिलो पटक आफ्नो पूर्ण संसदीय बहुमत गुमाउने जोखिम रहेको ७१ वर्षीय एएनसी नेताले आफ्नो दलले गरेका सुधारहरूको सूचीको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “यो तीस बर्षमा हामीले भूमिसुधारको काम अघि बढाएका छौँ, जबर्जस्ती विस्थापित भएकालाई लाखौँ हेक्टर जमिन वितरण गरेका छौँ ।”राष्ट्रपति रामाफोसाले भन्नुभयो, “हामीले घर, क्लिनिक, अस्पताल, सडक, पुल, बाँध र अन्य धेरै सुविधा निर्माण गरेका छौं । दक्षिण अफ्रिकाका लाखौं घरमा बिजुली, पानी र सरसफाइ पु¥याएका छौँ ।”

इप्सोसले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणले सन् २०१९ को पछिल्लो राष्ट्रिय निर्वाचनमा ५७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सत्तारुढ दललाई दिएको समर्थन ४० प्रतिशतमा झरेको देखाएको छ ।

यदि उसले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने हो भने एएनसीसत्तामा रहिरहनका लागि गठबन्धनका साझेदार खोज्न बाध्य हुनेछ ।भ्रष्टाचारको आरोप, गरिबी, अपराध, असमानता र बेरोजगारीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्दा एएनसीको छविमा नराम्रो चोट पुगेको छ ।

रामाफोसाले केही समस्याहरू अझै भएको स्वीकार गर्दै भन्नुभयो, “कतिपय अवस्थामा जानीजानी नबुझेको जस्तो गर्दै सबै पक्ष बिग्रिएको बताउनु न्योचित नहुने र यस्तो समस्या विश्व राजनीतिमा नै देखिने गरेको छ तर यो प्रचलनको अन्त्य हुनु जरूरी छ ।”

वस्तुनिष्ठ तर्कको आधारमा आलोचना गर्नु देश र देशबासीका लागि न्याय हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले धेरै प्रगति गरेका छौं र अझै धेरै काम गर्न हामी कटिबद्ध छौं ।”

इप्सोसको सर्वेक्षणमा सहभागी करिब दुई तिहाइ उत्तरदाताले देश गलत दिशामा अघि बढिरहेको बताएका छन् ।“उनीहरूले हामीलाई सपना देखाउने वाचा गरेका थिए, तर उनीहरूले केवल दुःस्वप्न मात्र देखाए,” प्रमुख विपक्षी दल डेमोक्रेटिक एलायन्स (डीए) का प्रमुख जोन स्टेन हुसेनले क्वाजुलु–नाटाल प्रान्तमा प्रतिद्वन्द्वीलाई सङ्केत गर्दै भन्नुभयो ।

“साँचो स्वतन्त्रता तब मात्र सम्भव हुन्छ जब तपाईंसँग आफ्नो परिवारको आवश्यकता पूरा गर्न र राम्रो भविष्य निर्माण गर्न रोजगारीको सहज व्यवस्था हुन्छ ।”

इप्सोसको अध्ययन प्रतिवेदनले डीएको पक्षमा करिब २२ प्रतिशत समर्थन रहेको देखाएको छ । त्यसैगरी वामपन्थी इकोनोमिक फ्रिडम फाइटर्स (ईएफएफ) ले ११.५ प्रतिशत प्राथमिकता प्राप्त गर्ने अनुमान गरिएको छ भने पूर्व राष्ट्रपति ज्याकोब जुमाको नेतृत्वमा रहेको युएमखोन्टो वी सिज्वे (एमके) ले ८.४ प्रतिशत प्राथमिकता प्राप्त गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया