`

इरानलाई सहयोगका लागि ‘ठोस’ कदम चाल्न आइएइए प्रमुखको आग्रह

Nepal One HD २५ वैशाख २०८१ १९:१२
विश्व

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले मङ्गलबार इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढ गर्न ‘ठोस’ कदम चाल्न आग्रह गर्नुभएको छ ।

इरानी सहर इस्फाहानमा आयोजित पत्रकार सम्मेलनमा इरानी अधिकारीहरूसँगको छलफलमा उनीहरूले ‘सहयोगलाई तीव्रता दिन लागु गर्न सकिने ठोस, अत्यन्त व्यावहारिक र मूर्त उपायहरूमा ध्यान केन्द्रीत गर्ने’ प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

ग्रोसीले इरानका आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलगायत वरिष्ठ इरानी अधिकारीहरूसँग छलफल गर्नुभएको थियो । आएइएका महानिर्देशक ग्रोसीले इरानसँग सन् २०२३ मार्चको सम्झौता ‘अझै पनि वैध’ रहेको तर यसमा थप ‘तत्व’ थप्न आवश्यक रहेको बताउनुभयो ।

उक्त सम्झौता ग्रोसीको पछिल्लो इरान भ्रमणका क्रममा भएको थियो र सम्झौतामा सुरक्षा उपाय तथा अनुगमनसहित आधारभूत सहयोग मापनलाई रेखाङ्कित गरिएको थियो । यद्यपि आइएइए प्रमुखले उक्त सम्झौताको कार्यान्वयनमा ‘सुस्तता’ आएको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा एकतर्फी सम्झौताबाट पछि हटेर व्यापक प्रतिबन्धलाई पुनः लागु गरेपछि इरानले प्रमुख शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक सम्झौताले निर्धारण गरेको आणविक गतिविधिमा रहेको सीमाको पालनालाई निलम्बन गरेको छ ।

सम्झौता टुटेपछि इरान र आइएइएबीच बारम्बार तनाव बढेको छ र युरोपेली सङ्घ (इयु) को मध्यस्थता प्रयासहरू अहिलेसम्म वासिङ्टनलाई फिर्ता ल्याउने र तेहरानलाई सम्झौताका सर्तहरू पुनः पालना गराउन विफल भएका छन् ।

एजेन्सीले हालैका महिनाहरूमा इरानको आणविक कार्य विस्तार, निरीक्षकहरूमाथि प्रतिबन्ध र आफ्नो आणविक केन्द्रहरूमा एजेन्सीको अनुगमन उपकरणलाई निष्क्रिय पार्नेजस्ता मुद्दामा सहयोगको अभावका लागि आलोचना गरेको छ ।

फेब्रुअरीमा एएफपीले देखेको गोप्य रिपोर्टबारे एजेन्सीले इरानको समृद्ध युरेनियमको अनुमानित भण्डार सन् २०१५ को सम्झौतामा निर्धारित सीमाभन्दा २७ गुणा बढी भएको बताएको छ । गत वर्ष इरानले उसको युरेनियम संवर्धनको गतिलाई सुस्त बनाएको थियो र यसलाई अमेरिकासँग अनौपचारिक छलफल सुरु हुँदा सद्भावना सङ्केतका रूपमा हेरिएको थियो ।

यद्यपि आएइएका अनुसार इरानले सन् २०२३ को उत्तरार्धमा ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनमा तीव्रता ल्याएको छ । सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक हुन्छ । सम्मेलनका क्रममा इस्लामीले ग्रोसीसँगको छलफल ‘रचनात्मक’ थियो भन्दै सन् २०२३ को सम्झौता इरान र एजेन्सीबीच ‘छलफलका लागि राम्रो आधार’ भएको कुरामा सहमति भएको बताउनुभयो ।


प्रतिक्रिया