`

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

Nepal One HD २६ वैशाख २०८१ १७:४३
विश्व

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन वर्षको कारागार सजाय सुनाएको छ ।

सरकारले राजा महा वजिरालोङ्गकर्न तथा उहाँको परिवारको रक्षा गर्ने कठोर कानूनअन्तर्गत धेरै मानिसमाथि मुद्दा चलाएर असहमतिलाई दबाउन कठोर लेज–मेजेस्टे कानूनको प्रयोग गरेको आलोचकहरूले बताएका छन् । 

सन् २०२० मा युवाहरूको नेतृत्वको प्रदर्शनका नेताहरूमध्ये २७ वर्षीय पनुपोङ जादनोक पनि एक हुनुहुन्थ्यो । राजतन्त्रमा सुधारका लागि अभूतपूर्व आह्वान गर्न हजारौँ मानिस सडकमा उत्रिएका थिए । 

थाई लयर्स फर ह्युमन राइट्सका एक प्रतिनिधिले उहाँलाई सन् २०२० मा राजासँग सम्बन्धित सामाजिक सञ्जाल पोस्टका लागि दोषी ठहर गरिएको बताए । “बैंककको आपराधिक अदालतले सुरुमा पनुपोङलाई चार वर्षको कारागार सजाय सुनाएको थियो तर पछि उहाँको उपयोगी साक्षीका लागि त्यसलाई घटाएर तीन वर्षमा झारियो ।” 

पनुपोङले राज्यको कठोर लेज–मेजेस्टे कानूनअन्तर्गत थप आठ आरोपको सामना गर्नुपरेको छ । दोषी प्रमाणित भए उहाँलाई प्रतिआरोपमा १५ वर्षसम्मको कारागार सजाय हुनसक्छ । 

हालैका वर्षहरूमा लेज मेजेस्टे कानूनअन्तर्गत आरोप लगाइएका एक सय ५० भन्दा बढी कार्यकर्तामध्ये पनुपोङ पनि एक हुनुहुन्छ । लेज मेजेस्टेलाई फौजदारी संहिताको प्रासङ्गिक खण्डपछि ‘११२’ भनिन्छ ।

प्रतिक्रिया