`

अफगानिस्तानमा बाढीबाट मर्नेको सङ्ख्या तीन सय नाघ्यो

Nepal One HD २९ वैशाख २०८१ १८:४३
विश्व

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । 


अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, “हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।”


शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो ।


बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले एएफपीलाई बताएको छ ।


आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्याङ्क उदृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताए ।


तालिबान सरकारका अधिकारीहरूले शुक्रबार रातिसम्म ६२ जनाको मृत्यु भएको बताएका थिए । सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयुवरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाएका छन् ।  उनले मृतक र घाइतेको सङ्ख्यामा भिन्नता नदेखाई एएफपीलाई दर्जनौँ मारिएको बताए ।


प्रतिक्रिया