उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको बताउनुका साथै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिएका छन् ।
हालैका महिनामा केवल मध्यमप्रगति गरेका रूसी सेनाले १० मे मा खर्सिव क्षेत्रमा आश्चर्यजनक आक्रमण गरेका थिए जसको परिणामस्वरूप डेढ वर्षमा उनीहरूको सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको छ ।
युक्रेनी सेनाले रोक्नुअघि रुसी सेना उत्तरपूर्वी सीमामा पाँचदेखि दश किलोमिटर अगाडि बढ्न सफल भएको जेलेन्स्कीले बताउनुभयो र यो क्षेत्रमा व्यापक आक्रमणको “पहिलो लहर” हुनसक्ने बताए ।
“म रुसका लागि यो एक ठूलो सफलता भन्न सक्दिन तर उनीहरू हाम्रो क्षेत्रमा प्रवेश गरिरहेका छन् भन्नेमा हामी सचेत हुनुपर्दछ”, आक्रमण सुरु भएदेखिको विदेशी मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा उनले भने ।
जेलेन्स्कीले खर्सिव क्षेत्रको स्थिति “नियन्त्रण” गरिएको तर “स्थिर नभएको” बताउनुभयो । युद्धको तेस्रो वर्ष बित्दै जाँदा रसियाको हवाई श्रेष्ठताको सामना गर्न थप हवाई रक्षा र लडाकू जेटहरू पठाउनका लागि उहाँले सहयोगीलाई अनुरोध गरे ।
“युक्रेनलाई रुससँग हवाई “समानता” हासिल गर्न “१२० देखि १३०” एफ–१६ लडाकू जेट वा अन्य उन्नत विमान चाहिन्छ जेलेन्स्कीले बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीन भ्रमणका क्रममा मस्कोले “सुरक्षा क्षेत्र” सिर्जना गर्न खोजिरहेको र युक्रेनले सीमा क्षेत्रमा गरेको गोलाबारीको बदलामा उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरेको बताए ।
रूसी सेनाले मे ९ र १५ को बीचमा दुई सय ७८ वर्ग किलोमिटर कब्जा गरेको छ । यो २०२२ को अन्त्य पछि उनीहरूको सबैभन्दा ठूलो लाभ रहेको युद्ध अध्ययन संस्थानको डाटाले बताएको हो ।
रुसको आक्रमणपछि युक्रेनले उत्तरपूर्वी सीमा क्षेत्रबाट करिब नौ हजार मानिसलाई उद्धार गरेको छ । पुटिनले आफ्नो सीमाबाट करिब तीस किलोमिटर टाढा रहेको युक्रेनको दोस्रो सहर खर्सिवलाई कब्जा गर्ने कुनै इच्छा नभएको बताए ।
खर्सिव क्षेत्रका युक्रेनी गभर्नर ओलेग सिनेगुबोभले रूसले खर्सिव सहरबाट करिब बीस किलोमिटर उत्तरपूर्वमा रहेको लुक्यान्ट्सी गाउँ नजिकै आफ्नो पकड जमाउँदै गएको चेतावनी दिए ।
रुसी आक्रमण विस्तारको पूर्वानुमान गर्दा, जेलेन्स्कीले युक्रेनको कर्मचारी व्यवस्थापन र “मनोबल”सम्बन्धी समस्या रहेको स्वीकार गरे ।
युद्ध अन्त्यको कुनै सङ्केत नहुँदा, युक्रेनी सेना भर्तीका लागि सङ्घर्ष चलिरहेको छ र लडाकु रोटेसनको अभावमा थकित र रिसाइरहेका छन् ।
धेरै युक्रेनी सैनिक डिस्चार्ज हुने सम्भावना बिना नै निरन्तर दुई वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् ।