`

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

Nepal One HD ६ जेठ २०८१ १५:१७
विश्व

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । ‘दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्थाबाट बाँच्न सक्नुभएन । उहाँ कुनै मुद्दा, सुनुवाई र आफ्नो परिवारसँगको कुनै पनि प्रकारको सञ्चार बिना सात वर्षसम्म सिरियाली हिरासतमा रहनुभएको थियो,’ अमेरिकी बन्धक र बन्दीहरूका परिवारका सदस्यहरूद्वारा आफ्नो परिवारको तत्काल रिहाइको लागि वकालत गर्ने अभियान ‘ब्रिङ आवर फेमिलीज होम क्याम्पियन (बिओएफएच)’ का प्रवक्ता जोनाथन फ्रान्कसले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

‘उहाँ एक दयालु र मायालु व्यक्ति हुनुहुन्थ्यो,’ कमलमाजको व्यक्तित्वको वयान गर्दै फ्रान्कसले भने । टेक्सासमा जन्मिएका र पेसाले मनोचिकित्सक रहेका कमलमाजलाई सन् २०१७ मा दमास्कसको एक सुरक्षा जाँच केन्द्रमा आफ्नो परिवारलाई भेट्न जाँदा हिरासतमा लिइएको थियो ।

सिरियाली सरकारद्वारा बन्दी बनाइएका अमेरिकी कैदीहरूको रिहाइको प्रयासमा सन् २०२० मा ट्रम्प प्रशासनका अधिकारीहरूले दमास्कसको भ्रमण गरेपछि पनि अमेरिकी बन्दीको रिहाइका लागि सिरियाली सरकार सककारात्मक नदेखिएपछि परिवारका सदस्यहरू निराश भएका थिए । 

यस वर्षको सुरुमा पहिलोपटक बन्धक र गलत नजरबन्द दिवसको सन्दर्भमा बोल्दै आफ्नो बुबाको बेपत्ता जीवनबारे मरियम कमलमाजले भने, ‘हामी उहाँ अदृश्य भएपनि उहाँको उपस्थितिको महसुस गरिरहने छौँ ।’

‘विगत सात वर्षदेखि हामी बुबाको अनुपस्थितिसँग सङ्घर्ष गरिरहेका छौं । हाम्रो परिवारले भोगेको पीडा र भावनात्मक उथलपुथलले हाम्रो जीवनमा ठुलो असर पारेको छ,’ मरियमले आफ्नो बुबाको निधनको घोषणा पश्चात भने ।

‘परिवार र सबै अमेरिकीले उहाँलाई धेरै याद गर्नेछौँ । हामी आवश्यक पर्ने अरूलाई सहयोग गर्ने उहाँको विरासत जीवित रहन्छ भन्नेमा आशावादी छौँ,’ उनले भने ।

फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो । ‘जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,’ होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया