स्वर्णिम वाग्लेले संसदमा कांग्रेसविरुद्ध अभिव्यक्ति दिएपछि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदमा नारबाजी गरिरहेको कांग्रेसलाई लज्जास्पद, औचित्यहीन भएको बताएपछि संसदमा तनाव भएको छ ।
वाग्लेले विषयवस्तु बाहिर गएर अभिव्यक्ति दिएपछि सभामुख देवराज घिमिरेले उनलाई विषयवस्तुमा केन्द्रित हुन पटक पटक आग्रह गर्नुपरेको थियो । रास्वपा सांसद वाग्ले संसद्को रोष्ट्रममा पुगेपछि कांग्रेस सांसदहरू झनै आक्रोशित भएका थिए।
वाग्लेले बिपीको नाम लिएर कांग्रेसले गरिरहेको नाराबाजी र वेल घेराउ लज्जास्पद र औचित्यहीन भन्दै खेद प्रकट गरेका थिए । वाग्लेले ‘राजनीतिक गुरु बीपी कोइरालाले स्थापित गरेको मान्यता कुल्चिएको छ..’ भन्दै गर्दा कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए ।
उनले भने, ‘गरिमामय संसदमा उपस्थित भएर बोल्नपर्ला जस्तो मलाई लागेको थिएन। ६५ वर्षअघि लोकतान्त्रिक आन्दोलनका धरोहर, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ।’
