बाइडनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव सार्वजनिक


बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससामु ल्याएको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन् । तीन किस्ताको प्रस्ताव अन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ र सो समयमा इजरायल डिफेन्स फोर्सेज बढी जनसङ्ख्या भएका क्षेत्रबाट फिर्ता हुनेछ ।
मानवीय सहायता पुर्याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीहरूको सट्टा केही बन्धकहरू रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा ‘युद्धलाई अन्त्य’ गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । हमासले उक्त प्रस्तावलाई आफूले ‘सकारात्मक’ ढङ्गले हेरेको जनाएको छ।
शुक्रवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले पहिलो चरणको प्रस्तावित योजनाले ‘पूर्ण युद्धविराम’, बढी जनसङ्ख्या भएका क्षेत्रबाट आईडीएफका सैनिकहरूको फिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटो बन्धकहरूको रिहाइलाई समेट्ने बताए ।
उनले युद्धविरामले घेराबन्दीमा परेको उक्त भूभागमा थप मानवीय सहायता पुग्न दिने भन्दै ‘प्रत्येक दिन गाजामा सहायता सामाग्री बोकेका ६०० वटा ट्रक पुग्न सक्ने’ जनाए ।
दोस्रो चरणमा सबै जीवित बन्धकको रिहाइ हुने र त्यसमा पुरुष सैनिकहरू पनि समावेश गरिने भनिएको छ । त्यसपछि युद्धविराम ‘स्थायी रूपमा युद्धको समाप्तिमा’ परिणत हुने भनिएको छ । हमासलाई यो प्रस्ताव स्वीकार गर्न अनुरोध गर्नेमा ब्रिटेनका विदेशमन्त्री डेविड क्यामरन पनि छन् । उनले सामाजिक सञ्जाल एक्समा उक्त समूहले सम्झौतालाई स्वीकार गर्नुपर्ने र त्यसो भए लडाइँ अन्त्य भएको देख्न सकिने’ बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यी घटनाक्रमको स्वागत गरेका छन् । उनले विश्वले ‘गाजामा ज्यादै धेरै पीडा र ध्वंस देखेको’ भन्दै त्यसलाई ‘रोक्न पर्ने समय’ भइसकेको जनाए।
राष्ट्रपति बाइडनको पहलकदमीलाई स्वागत गर्दै उनले त्यसले मध्यपूर्वमा अन्ततः शान्ति ल्याउन सक्ने टिप्पणी गरे । आफ्नो सम्बोधनमा बाइडनले पहिलो चरण र दोस्रो चरणबीचको वार्ता कठिन हुने स्वीकार गरेका छन्।