`

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

Nepal One HD २ साउन २०८१ १७:०८
खेलकुद

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।

फ्रान्सेली राजदूतावासका कार्यवाहक राजदूत जाँ बाप्टिस्टी लेसिकले आयोजना गरेको समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जुडो खेलाडी मनिता प्रधान, ब्याडम्निटनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ओलम्पिक कमिटीका पदाधिकारी सहभागी थिए ।

प्रतियोगितामा अलेक्जेन्डर जी शाह र डुआना लामा तथा टेबलटेनिसमा सन्तु श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । कारणवश उनीहरु भने समारोहमा सरिक नभएको काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

कार्यवाहक राजदूतले नेपाली खेलाडीको सफलताको कामना गर्दै प्रतियोगितामा नेपालको प्रतिनिधित्व आफैँमा गौरवको विषय भएको बताए ।

अध्यक्ष श्रेष्ठले खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल नेपाललाई प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । एक सय वर्षअघि पेरिसमा नै गृष्मकालीन ओलम्पिक खेल भएकाले एक शताब्दीपछि सोही स्थानमा आयोजित यो प्रतियोगिताको ऐतिहासिक महत्व छ ।


प्रतिक्रिया