नयाँ मोडालिटीमा हुँदै एन्फा महिला लिग, १० टोलीले प्रतिस्पर्धा गर्ने


काठमाडौं । एन्फा महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको बैठकले महिला लिगको मोडालिटी र बजेटको विषयमा छलफल समेत गरेको छ ।
एन्फा अध्यक्ष पंकज नेम्वाङको अध्यक्षतामा बसेको भर्चुअल बैठकले महिला लिगमा १० टोलीको सहभागिता गराउने निर्णय गरेको छ ।
जसमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब, एन्फा महिला लिग छनोटबाट छानिएका कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशक, संकटा क्लब र बागमति युथ क्लब तथा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका छन् ।
यसअघि एन्फाले तीन विभागीय टोली र महिला लिग छनोटबाट आएको तीन गरी ६ टोलीको राष्ट्रिय लिग गर्ने बताएपनि बुधबारको बैठकले ए, बी र सी डिभिजन क्लबमध्येबाट संकटा र बागमती तथा दुई नगरपालिकाको टिम थप गर्ने निर्णय गरेको हो ।
एन्फाले महिला लिगको बजेट र नियमावली पास गर्ने एक मात्र एजेन्डा लिएर आपतकालिन बैठक बसेको हो ।
यस पटक महिला लिगको मोडालिटीमा पनि परिवर्तन गरिएको छ । एन्फा प्रवक्ता किरण राईले सार्वजनिक गरेको वित्तप्ती अनुसार १० टिमबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । जसमा कूल ४५ खेल हुनेछ ।
त्यसपछि शीर्ष पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेलाइनेछ जसमा २० खेल हुनेछ । सुपर लिगमा शीर्ष चार टोलीबीच क्वालिफायर, एलिमिनेटर र फाइनल गरी थप चा खेल हुनेछ । लिगमा कूल ६९ खेल हुने एन्फाले जनाएको छ ।
यस्तै बैठककले एन्फा राष्ट्रिय महिला लिगको तीन सिजनको बजेट समेत पारित गरेको छ । जस अनुसार २०२४ को लिगका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट पारित गरिएको छ ।
यस्तै २०२५ को सिजनको लिगको छनोटका लागि ८१ लाख ७३ हजार ५७१ र लिगका लागि २ करोड ५२ लाख ७२ हजार ७९५ रुपैया बजेट पारित गरिएको छ ।
यसैगरी २०२६ को लिगको छनोटका लागि ९१ लाख ९३ हजार २१४ तथा लिगका लागि २ करवड ५६ लाख ५५ हजार २९५ रुपैयाँ बजेट पारित गरिएको एन्फाले जनाएको छ । एन्फाले लिग आयोजनाको मिति र स्थान भने तय गरेको छ ।