हाथरसमा आयोजित हिन्दू धार्मिक सभामा भएको घटनाबाट भोलेबाबा दुःखी


भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समीक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको बताएका छन् ।
उत्तरी सहर हाथरसमा आयोजित हिन्दू धार्मिक सभामा जुलाई २ मा भएको भागदौडमा एक सय २१ जनाको मृत्यु भएपछी पहिलो पटक सञ्चारमाध्यमसमक्ष प्रस्तुत भएका प्रवचक भोलेबाबाले आफू यो त्रासदीबाट दुःखी भएको बताए ।
“जे भयो त्यसबाट म धेरै दुःखी छु, तर भाग्यलाई कसले चुनौती दिन सक्छ र ? जो कोही पनि यस पृथ्वीमा आउँछ उसले एक दिन जानैपर्छ” उनले भने ।
प्रहरी कन्स्टेबलबाट प्रचारक बनेका बाबाले बुधबार भागदौड भएको स्थानबाट करिब ६० किलोमिटर टाढाको कासगञ्जमा रहेको धार्मिक मठबाट स्थानीय सञ्चारमाध्यमसँग कुरा गरेका हुन् ।
बाबाका वकिलले यसअघि भिडमा रहेका असामाजिक तत्वहरु घटनाको जिम्मेवार रहेको बताएका थिए।
प्रवचनमा २ लाख पचासँ हजार भक्तहरू उपस्थित थिए । यद्यपी ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरुसँग थियो । मृत्यु भएका मध्ये अधिकांश महिला थिए ।
भागदौडपछि जारी गरिएको प्रहरी प्रतिवेदनका अनुसार उक्त कार्यक्रमका मुख्य आयोजकहरूलाई पक्राउ गर्न खोजिएको थियो, तर भोलेबाबालाई पक्राउ गर्न सकिएको थिएन ।
अहिलेसम्म उनका ११ जना स्वयंसेवकलाई भने पक्राउ गरिएको छ । भारतमा धार्मिक जमघटहरूमा कमजोर भीड व्यवस्थापन र सुरक्षा त्रुटिहरूले गर्दा यस्ता घातक घटनाहरू सामान्य छन् ।
सन् २००८ मा उत्तरी सहर जोधपुरको पहाडी मन्दिरमा भएको भागदौडमा २२४ तीर्थयात्रीको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।