किताब जात्राको छैटौँ संस्करण साउन तेस्रो साता


काठमाडौँ, ६ साउनः किताब यात्रा फाउन्डेसनको आयोजनामा ‘किताब जात्रा’को छैटौैँ संस्करण यही साउन १८ र १९ गते काठमाडाँैमा हुने भएको छ ।
“किताब जात्राको छैटौँ संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, फाउन्डेसनका अध्यक्ष तथा महोत्सवका निर्देशक ऋषिराम अधिकारीले भन्नुभयो, “हामी दुई वर्षपछि फेरि भौतिक रूपमै महोत्सव आयोजना गर्दैछौँ ।”
महोत्सवका संयोजक विकेश भट्टराईका अनुसार जात्रामा साहित्य, आर्थिक, सामाजिक, कलालगायतका समसामयिक विमर्श पनि सञ्चालन गरिनेछ । उहाँले जात्राका अवसरमा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता गतिविधि पनि आयोजना गरिनेछ । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित सङ्गीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको पनि प्रस्तुति रहनेछ।
जात्रामा रु एक लाख ११ हजार एक सय ११ राशिको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । उक्त सम्मान गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको थियो ।
लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, चलचित्र, समाज, बैंकिङ्लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व समावेश हुने १५ वटा सेसन रहने निर्देशक अधिकारीले जानकारी दिनुभयो । ‘सङ्गम श्रुति’ ब्यान्डको साङ्गीतिक प्रस्तुति पनि रहनेछ ।