`

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस असफल: निर्देशक किम्बर्ली 

Nepal One HD ७ साउन २०८१ २२:५७
विश्व

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छन् ।


‘हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो’, निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले भनिन्, ‘जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेवारी लिन्छु ।’


राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गर्नुभएका चिटलले ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनिन् । एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । 


रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उनीमाथि गोली चलाएका थिए । 


आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । 


बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निर्धारण गरेका छन् । 


गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो । 


‘यो त्रासदीलाई रोक्न सकिन्थ्यो । निर्देशक चिटल, तपाईंले राजीनामा दिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ’, हत्या प्रयासमाथि सुनुवाइ प्रारम्भ गर्दै रिपब्लिकन कमिटीका अध्यक्ष जेम्स कमरले भने, ‘सिक्रेट सर्भिसको सुरक्षात्मक मिसन भनेको अमेरिका भ्रमणमा आएका विश्व नेताहरूको सुरक्षा गर्नु र उम्मेदवार तथा उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको सुरक्षामार्फत अमेरिकी निर्वाचनको सुरक्षा गर्नु हो ।’


‘सिक्रेट सर्भिसको शून्य–असफल मिसन छ तर जुलाई १३ मा र र्यालीका अगाडिका दिनहरूमा यो असफल भयो’, उनले भने, ‘एजेन्सी अब अक्षमताको अनुहार बनेको छ ।’


ओहायोबाट रिपब्लिकन सांसद प्रतिनिधि माइकल टर्नरले पनि चिटललाई राजीनामा दिन आग्रह गरे । ‘तपाईंले राजीनामा मात्र होइन, तपाईंले राजीनामा दिन अस्वीकार गर्नुभयो भने राष्ट्रपति जो बाइडेनले तपाईंलाई बर्खास्त गर्नुपर्छ । किनकी तपाईंले रक्षा गर्ने उहाँको जीवन, डोनाल्ड ट्रम्पको जीवन र अन्य सबैको जीवन खतरामा छ ।’


ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताए । 


पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेका थिए । उनलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया