दक्षिण अफ्रिकाका पूर्वनेता जुमा सत्तारूढ एएनसीबाट निष्कासित


दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी नेसनल कांग्रेस (एएनसी) ले सोमबार आफ्ना पूर्वनेता एवं पूर्वराष्ट्रपति ज्याकोब जुमालाई अनशासनात्मक कारवाहीपछि निर्वाचनमा प्रतिद्वन्द्वी पार्टीको नेतृत्व गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।
गत मे महिनामा जुमाको दलबदलका कारण आफ्नो पूर्ण संसदीय बहुमत गुमाएको एएनसीले अनुभवी राजनीतिज्ञको आचरण आफ्नो संविधानसँग ‘असङ्गत’ थियो भनेको छ ।
“पूर्वराष्ट्रपति ज्याकोब जुमाले सक्रियरूपमा एएनसीको अखण्डताको आलोचना गर्नुभएको छ र अहिलेसम्म आफ्नो सदस्यता नत्यागेको दाबी गर्दै एएनसीलाई सत्ताबाट हटाउने अभियान सञ्चालन गर्नुभएको छ”, एएनसीका महासचिव फिकिले मबालुलाले पत्रकार सम्मेलनमा भने, “त्यसैले उहाँलाई पार्टीबाट ‘निष्कासित’ गरिएको छ ।”
जुमाले नवगठित युएमखोन्टो भिसिजवे (एमके) लाई समर्थन गरेपछि घोटालामा परेका उनलाई जनवरीमा पहिलो पटक एएनसीले निलम्बन गरेको थियो ।
एमकेले मे २९ मा भएको निर्वाचनमा एएनसीको मतको हिस्सालाई घटायो र १४ दशमलव पाँच प्रतिशतका साथ तेस्रो स्थानमा रह्यो ।
मे महिनामा भएको निर्वाचनमा एएनसीलाई ४० प्रतिशत मत प्राप्त भयो । तीन दशकअघि रङ्गभेदी सरकारलाई हटाएर सत्तामा आएपछि यो उसको सबैभन्दा कमजोर अङ्क थियो ।
निर्वाचन नतिजाले एएनसीलाई अन्य नौ दलसँग गठबन्धन सरकार बनाउन बाध्य बनायो । चार सय सिटको नेसनल एसेम्बलीमा ५८ सांसदसहित एमकेले विपक्षी दलको नेतृत्व गरेको छ ।
लोकप्रिय कट्टरपन्थी वामपन्थी पार्टी एमकेले सुरुमा निर्वाचन परिणामप्रति विवाद गरेको थियो । जुमाको एमकेबारे मबालुलाले भने, “उहाँको मञ्च खतरनाक छ, एमकेले हाम्रो राजनीतिमा चरमपन्थी प्रवृत्तिलाई बढावा दिन्छ र सामाजिक अशान्ति फैलाउन सक्ने राजनीतिक आधारलाई प्रवर्द्धन गर्दछ ।”
सन् २०२१ मा अदालतको अवहेलना गरेको आरोपमा जुमालाई सांसदका रूपमा काम गर्नबाट रोक लगाइएको थियो । उनको निष्कासनको खबर बाहिरिएपछि एमकेले ‘आफ्नो नेताविरुद्ध गम्भीर अन्याय’ को आलोचना गरेको छ ।
एमकेका प्रवक्ता न्हलामुलो नधलेलाले भने, “लिक भएका कागजातले अनुशासनात्मक प्रक्रिया अत्यधिक त्रुटिपूर्ण मात्र नभएर कङ्गारु अदालत (कुनै व्यक्तिमाथि मुद्दा चलाउनका लागि मानिसहरूको एक समूहले अयाोजना गरेको अनौपचारिक अदालत जसले विशेषरूपमा राम्रो प्रमाणबिना कुनै अपराध वा दुष्कर्मको दोषी मान्दछ) ले चलाएको पनि देखाउँछ ।”
जुमाले कारवाहीको दिशा निर्धारण गर्न कानूनी परामर्श नियुक्त गर्ने उनले बताए । जुमासँग फैसलाविरुद्ध पुनरावेदन दिनका लागि २१ दिनको समय छ ।
सन् १९५९ मा किशोरावस्थामा जुमा युवा लिगमार्फत एएनसीमा संलग्न हुनुभएको थियो । सन् २००९ मा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका जुमालाई भ्रष्टाचारको आरोपमा सन् २०१८ मा पदबाट हटाइएको थियो र उनलाई लामो समयका प्रतिद्वन्द्वी राष्ट्रपति सिरिल रामफोसाले प्रतिस्थापन गरेका थिए ।