इजरायली कारबाहीमा हिज्बुल्लाहका वरिष्ठ कमान्डरको मृत्यु


बीबीसी । इजरायलले लेबननको राजधानी बेइरुतमा गरिएको एक आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर मारिएको दाबी गरेको छ ।
मुख्य सहरको बाहिरी क्षेत्रमा पर्ने दाहियामा भएको विस्फोटमा कम्तीमा एक जना मारिएको र कैयौँ अन्य घाइते भएका बताइएको छ।
उक्त क्षेत्रमा लेबननको सशस्त्र समूहको वर्चस्व भएको मानिन्छ । इजरायली सेनाले ‘सुराकीमा आधारित कारबाही’ अन्तर्गत लडाकु विमानबाट हिज्बुल्लाहका कमान्डर फुआद सुकरलाई निसाना बनाइएको जनाएको छ ।
तर स्थानीय सुरक्षा स्रोतहरूले निशाना बनाइएको भवनमा सुकर नभएको बताएका छन् । इजरायली अधिकारीहरूले गत शनिबार इजरायलको गोलन हाइट्समा अधिकांश बालबालिकासहित १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणमा उनी जिम्मेवार रहेको दाबी गरेका छन् ।
लेबननका प्रधानमन्त्री नजीब मिकातीले इजरायको खुला आक्रमण’को निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई आपराधिक कार्य भन्दै सर्वसाधारणहरूको ज्यान जाने गरी आक्रमण गरेर इजरायलले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको दाबी गरेका छन्।